काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।
विभागले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।
विभागको जलवायु विज्ञान महाशाखाले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुको जलवायु आँकलन सार्वजनिक गर्दै पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने पूर्वानुमान गरेको हो ।
कार्यक्रममा मौसमविद सुदर्शन हुमागाईंले दिएको जानकारी अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यद्यपि यो विभिन्न भेगमा फरक–फरक छ ।
कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
देशका बाँकी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको मौसमविद हुमागाईंले जानकारी दिए ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तर–पूर्वी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहने मौसमविद् हुमागाईले बताए ।
यसैगरी कोशी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको अनुमान छ ।
विभागले नेपालको मनसुन ऋतुको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र एन्सो तथा हिन्द महासागरमा विकसित हुने इण्डिन ओसन डाइपल (आईओडी)को हालको अवस्थाको विश्लेषणलाई आधार मानेको छ । साथै यो प्रक्षेपण विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुपहरुको आकलन र दक्षिण एसियाली जलवायु फोरम (सास्कोफ)को आकलनलाई आधार मानेर गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: