काठमाडाैं । नेकपा एमाले को च्यासल स्थित रहेको पार्टी केन्द्रीय कार्यालय हटाउनुपर्ने अवस्था सिर्जना भएको छ। तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान को नाममा प्रयोग हुँदै आएको जग्गाको भोगाधिकार समाप्त भएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा तथा त्यसमा बनेका संरचना खाली गर्न सूचना जारी गरेको हो ।
मन्त्रालयले ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित)’ को दफा २१ को उपदफा (२) अनुसार भोगाधिकार प्राप्त भए पनि हालसम्म लिजमा परिणत नभएका जग्गा तत्काल खाली गर्न निर्देशन दिएको जनाएको छ ।
नेकपा एमाले ले २०५८ चैतमा मन्त्रिपरिषद्बाट स्वीकृति लिएर तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा भोगचलन गर्दै आएको थियो। तर उक्त जग्गा हालसम्म लिजमा परिणत नगरिएकाले मन्त्रालयको पछिल्लो सूचनाले एमाले पार्टी कार्यालयसमेत प्रभावित हुने देखिएको छ ।
२०७३ जेठ ३१ र २०७४ वैशाख २१ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभाग ले प्रकाशित गरेको सूचनाको समयसीमाभित्र लिज प्रक्रियाका लागि निवेदन नदिएका व्यक्ति, संस्था वा निकायको भोगाधिकार स्वतः समाप्त भएको उल्लेख गरिएको छ। साथै, बाँकी रकम भए सरकारी कोषमा बुझाएर जग्गा र त्यसमा निर्मित संरचना खाली गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्: