काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेको हो ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधिश बन्नेछन् ।
सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने संवैधानिक व्यवस्था छ । त्यसैअनुसार न्याय परिषद्ले ६ जनाको नाम पठाएको थियो । जसमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुयाल, मनोज शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ थिए।
परिषद्ले तीन जनालाई पन्छाउँदै शर्माको नाम सिफारिस गरेको हो। वरीयता मिचेर सिफारिस नगर्न चौतर्फी दबाब परे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहको जोडबलमा उनी प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् ।
२०२७ असार ४ गते पर्सामा जन्मिएका शर्मा २०९२ साल असार ३ गते ६५ वर्ष पुग्ने छन्। तर उनी प्रधानन्यायाधीशको कार्यकाल ६ वर्ष हुने हुँदा त्यसअघि नै अवकाश पाउनेछन् ।
परिषद्को बैठकमा अध्यक्ष शाहसँगै सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे, कानुनमन्त्री सोविता गौतम, उपसभामुख रुवीकुमारी सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्: