काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाइएको हो ।
बैठक भोलि (बिहीबार) अपराह्न ५ बजे बस्नेछ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको जनाइएको छ ।
सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको छ । जसका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरिएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ ।
बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।
हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् ।
यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ । समावेशी आयोगमा पनि अध्यक्ष र अर्का एक सदस्यको पद रिक्त छ । महिला आयोगमा पनि एक पद रिक्त छ । मुस्लिम आयोग, थारू आयोगमा पनि पदाधिकारी पद रिक्त छन् ।
संवैधानिक पदहरुमा नियुक्तिका लागि परिषदले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्: