रौतहट।रौतहटको चन्द्रपुर–४ (चन्द्रनिगाहपुर)मा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
गएको शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमनको क्रममा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । सो अस्पताललाई मुख्यमन्त्री सिंह सहितको अनुगमन टोलीले अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो ।
मुख्यमन्त्री सिंहको पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण सोमबार साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।
मुख्यमन्त्री सिंहले गएको शनिबार चन्द्रनिगापुरका ११ वटा संचालनमा रहेको निजी अस्पतालको अनुगमन गरेका थिए। जस मध्ये १० वटा अस्पताल दर्ता नभएका भेटिएका थिए । ११ वटामध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्: