बीरगञ्ज/ तराई मधेसका अधिकांश बजारमा विषादी प्रयोग गरी पकाइएको आँप खुलेआम बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो।
सरोकारवाला निकायले बेवास्ता गर्दा वीरगन्ज, कलैया, जितपुर सिमरा, गौर , चन्द्रनिगाहपुर, सर्लाहीको मलङ्गवा, लगायतका ग्रामीण बजारमा समेत समय अगावै औषधी हालेर पकाइएको आँप व्यापारीले बिक्री गरिरहेका छन् ।
यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खानसमेत नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्।
चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा बिक्रीका लागि विषादी प्रयोग गरिएका आँप राखिएका छन्। आँपमा विषादी हालेर पकाइने गरेकोले सावधानी अपनाउन पनि स्वास्थ्यकर्मीहरुको सुझाव छ।
तराई सिमरा मडर्न हस्पिटलका प्रमुख डा. रवीन्द्र सिंहले हानिकारक रसायन हालेर पकाएको आँप खाँदा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताए।
विभिन्न किसिमका विषादी प्रयोग गरी पकाएको आँपलगायत अन्य फलफूल सेवन गर्दा स्वास्थ्य बिग्रने उनको भनाइ छ। अत्यधिक प्रयोग गरिएको आँप निर्बाध बिक्री वितरण गरिएको भए पनि त्यसको रोक थाम तर्फ हालसम्म स्थानीय तह तथा प्रशासनले कुनै पहल नगरेको देखिन्छ।
मानव स्वास्थ्यमा खेलबाड हुने गरी विषादी प्रयोग गरिएको आँप बिक्री वितरण तुरुन्त रोक्न स्थानीय सरकार र प्रशासनले कदम चाल्नु पर्नेमा एक स्थानिय समाजसेवीले बताउँछन्।
चिकित्सकहरुले विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने भन्दै सचेत गराउँदै आएका छन्।



प्रतिक्रिया दिनुहोस्: