काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति चाहेको बताएका छन् ।
सोमबार लोकसेवा आयोगको ७६औँ स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले जनताको यो चाहना र अभिष्ट पूरा गर्नका लागि आधुनिक समयअनुरूप हाम्रो राज्य संयन्त्रलाई अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउनु आवश्यक रहेको धारणा राखेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु आजको प्रमुख आवश्यकता भएको बताए ।
राष्ट्रपति पौडेलले आयोगलाई आफ्नो कार्यसम्पादनमा आधुनिक प्रविधिको प्रयोग बढाउन र समयसापेक्ष परीक्षण विधि अवलम्वन गर्न सुझाव दिए । कार्यक्षेत्र विस्तारसँगै गुणस्तर कायम राख्नु र वैज्ञानिक एवं व्यवस्थित भावी योजना तय गर्नु आयोगका लागि मुख्य चुनौती रहेको उनले औंल्याए ।
उनले भने, ‘राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले साढे सात दशक लामो अवधिमा योग्यता, निष्पक्षता र स्वच्छता जस्तो मूल सिद्धान्तको जगमा रहेर प्रभावकारी तवरले कार्य सम्पादन गर्नु खुशीको विषय हो ।
विशेषतः निष्पक्षता र योग्यता कर्मचारी छनोटको उच्चतम कसी हो । मूल्यांकनको यही अन्तरायलाई अवलम्बन गरेकै कारण आयोगप्रतिको भरोसा आजसम्म अटुट छ । यो भरोसा र विश्वास नै आयोगको ठूलो सम्पत्ति हो । यसलाई अझ थप सुदृढ गर्दै आयोगलाई अझ सबल बनाउन तपाईंहरूको सत्प्रयास निरन्तर रहने मैले विश्वास लिएको छु ।’
उनले भने, नेपाली जनताले चाहेको भनेकै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति नै हो । जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समय अनुकूल अझ जनमुखी, सेवामुखी, प्रविधि मैत्री र परिणाममुखी बनाउन जरुरी छ ।’
उनले लोकसेवा आयोगको साढे सात दशक लामो इतिहासमा कायम रहेको निष्पक्षता, योग्यता र स्वच्छताको सिद्धान्तलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्: