धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमवार ५ जना बिनाविभागीय सहित ७ मन्त्री थप नियुक्त गर्दै मन्त्रिपरिषद् बिस्तार गरेका छन्।
मुख्यमन्त्री सोडारीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीकाअनुसार एमालेबाट तीन जना, माओवादी केन्द्रबाट तीन जना र नेकपा एकीकृत समाजवादीबाट एक गरी सात जना मन्त्री नियुक्त भएका छन्।
एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन्।
एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक तथा एकीकृत समाजवादीका माया पन्तलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ। यससँगै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रीपरिषद् गठन गरिएकोछ। यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री सोडारीले आजै स्वतन्त्र सांसद डाक्टर ताराप्रसाद जोशीलाई पनि मन्त्री नियुक्त गर्न चाहे पनि जोशीले भने मन्त्रीको शपथ लिन अस्वीकार गरेका छन्। मुख्यमन्त्री सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्न खोजे पनि जोशीले मन्त्री पद अस्वीकार गरेका हुन्।
भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन्। यता माओवादी केन्द्रमा मन्त्री सिफारिसको विषयलाई लिएर किचलो भएको छ। पाँच जना सांसदहरुले संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। सांसदहरु खगराज भट्ट, झपट साउँद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन्। प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सांसद छन्



प्रतिक्रिया दिनुहोस्: