श्रवण साह
२९ जेष्ठ वीरगञ्ज । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक समुन्त अधिकारीको कमाण्डमा गरिएको संयुक्त कारबाहीमा करिब २० क्यु फिट सालको अवैध काठ बरामद गरिएको छ।
उक्त अभियानमा सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, कविता दास, वन कर्मचारी लक्ष्मी साह कानु, अरविन्द कुमार, प्रहरी चौकी बढनियारका इन्चार्ज असई धर्मराज उप्रेती, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम, सदस्य श्रवण प्रसाद साह तथा सशस्त्र प्रहरी बल नेपाल का सई नारायण अधिकारीसहित पाँच सदस्यीय टोलीको सहभागिता रहेको थियो।
संयुक्त टोलीले वन क्षेत्रको संरक्षण, अवैध कटानी नियन्त्रण तथा काठ तस्करी रोक्न विशेष निगरानी बढाइएको जनाएको छ। वन ऐनअनुसार अवैध रूपमा काठ कटानी, ओसारपसार तथा बिक्री वितरण गर्नेलाई कानुनी कारबाहीको व्यवस्था रहेको छ।
वन संरक्षण वातावरण, जैविक विविधता र प्राकृतिक स्रोतको दीगो व्यवस्थापनसँग जोडिएको विषय भएकाले यस्ता संयुक्त अभियानलाई निरन्तरता दिइने सरोकारवालाहरूले बताएका छन्।




प्रतिक्रिया दिनुहोस्: