वीरगञ्जका महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ जेष्ठ २५

काठमाडौं । किर्ते कागजातका आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार विशेष अदालतमा उनीहरू विरुद्ध मुद्दा दर्ता गरेको हो । मुद्दा दायर गरिएकाहरूमा मेयर सिंहसहित सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई रहेका छन्। यस्तै, सोही प्रकरणमा संलग्नता देखिएका जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल विरुद्ध पनि मुद्दा चलाइएको छ ।

अख्तियारले किर्ते नागरिकताका काण्डबारे छानबिन गर्न सरकारद्वारा गठित समितिका पदाधिकारीहरूलाई समेत प्रतिवादी बनाएको छ । तत्कालीन छानबिन समितिका संयोजक एवं उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध पनि गलत प्रतिवेदन तयार पारेको आरोपमा मुद्दा दायर गरिएको हो ।

मेयर सिंहले अर्काकी छोरीको नागरिकता बनाउने क्रममा पद र पहुँचको दुरुपयोग गरी झुटा विवरण र कागजात खडा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। सोही प्रकरणमा मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए ।

भ्रष्टाचार आरोपमा पक्राऊ परेका राजेशमान सिंह महानगरपालिकाका पहिलो नगर प्रमुख (मेयर) हुन् ।

 

प्रतिक्रिया दिनुहोस्: