काठमाडौं । नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाउँदै रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई दिएका हुन् ।
सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस-नेपाल सम्बन्ध, मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गरेको यहाँ स्थित रूसी राजदूतावासले जनाएको छ ।
रूसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा सफल कार्यकालको कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्: