पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बृद्धि

२०८२ चैत्र ११

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा १५/१५ रुपैयाँले मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।

यस्तै डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

नेपाल आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल लाई निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: