मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने भएको छ

२०८१ जेष्ठ १८

जनकपुरधाम/ मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनमत पार्टीको संयुक्त बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी केन्द्रका नेता भरतप्रसाद साहले जानकारी दिएका छन् ।

सहमतिमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ। सरकारमा यी तीन दलसँगै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

एक सय सात सदस्यीय प्रदेशसभामा एमालेका सभामुखबाहेक २४ जना सदस्यहरू छन् भने जनमत पार्टीका  १३, माओवादी केन्द्रका ९ , लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका सात सांसद् रहेका छन् ।

गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् ।  यही जेठ २१ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ। साथै मुख्यमन्त्री यादवले यही जेठ २३ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: