पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित बिरुवा गुठीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त बैठकमा रास्वपाका पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार सुशील कुमार कानुलाई स्थानीय महिला तथा युवाहरूले भव्य स्वागत गरेका थिए।
बैठक कार्यक्रममा निर्वाचन लक्षित रणनीति तथा क्षेत्रका विद्यमान समस्याबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी महिलाहरूलाई लक्षित गरी घरमै बसेर गर्न सकिने प्राविधिक कृषि, पशुपालनसम्बन्धी तालिम तथा सिलाइ–कटाइ तालिम उपलब्ध गराउने विषयमा छलफल भएको थियो। यसले महिलालाई आत्मनिर्भर बनाउने र स्थानीय स्तरमै आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्य रहेको बताइएको छ।
त्यसैगरी आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै संगठन विस्तार, जनसम्पर्क र मतदाता परिचालन रणनीतिबारे पनि छलफल गरिएको थियो। उम्मेदवार कानुले महिला र युवाको सक्रिय सहभागिता बिना समाजमा वास्तविक परिवर्तन सम्भव नहुने उल्लेख गर्दै सबैलाई एकजुट भएर चुनावी अभियानमा लाग्न आग्रह गरे।
उम्मेदवार सुशील कुमार कानुले स्थानीयवासीले भोग्दै आएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउँदै निर्वाचित भएसँगै चरणबद्ध रूपमा ती समस्याहरू समाधानतर्फ पहल गर्ने आश्वासन दिए। बैठक कार्यक्रममा सहभागी स्थानीय महिला, युवा तथा पार्टी कार्यकर्ताहरूले रास्वपाको परिवर्तनमुखी एजेन्डाप्रति समर्थन जनाउँदै चुनावी अभियानलाई अझ सशक्त बनाउने संकल्प व्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस्: