पर्सागढी–४ थरुवा हर्दासपुरमा रास्वपाको वडा स्तरीय बैठक सम्पन्न, स्थानीय समस्या समाधान गर्ने कानुको प्रतिबद्धता

२०८२ माघ २७

पर्सा, २६ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ४ थरुवा हर्दासपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त बैठकमा रास्वपाका पर्सा क्षेत्र नं. २ का उम्मेदवार सुशील कुमार कानुको सहभागिता रहेको थियो।

बैठकमा पार्टी संगठनभित्र देखिएका अवस्था, क्षेत्रीय चुनौती तथा आगामी निर्वाचनका लागि अवलम्बन गर्नुपर्ने रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी युवाहरूसँग आगामी चुनावलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विचार–विमर्श गरिएको जनाइएको छ।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले भोग्दै आएका विविध समस्याबारे ध्यानाकर्षण गराइएको थियो। त्यसप्रति प्रतिक्रिया दिँदै उम्मेदवार कानुले निर्वाचित भएसँगै ती समस्याको समाधानतर्फ प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कानुले लामो समयदेखि यस क्षेत्रका कृषकहरूले जंगली जनावरबाट कृषि क्षेत्रमा भोग्दै आएको क्षति गम्भीर समस्या भएको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधान छिटो खोजिने आश्वासन दिएका छन्। वडा स्तरीय बैठकमार्फत स्थानीय तहका समस्या, जनचासो र विकासका सम्भावित उपायबारे साझा धारणा बनाइएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: