वीरगंज, २० माघ । पर्सा क्षेत्र नं. २ अन्तर्गत पचरूखी गाउँपालिका वडा नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील कुमार कानुले स्थानीयवासीसँग प्रत्यक्ष छलफल गर्दै चुनावी सभालाई सम्बोधन गरेका छन्। घरदैलो र अन्तरक्रिया कार्यक्रममार्फत उनले वडावासीका समस्या, आवश्यकता र अपेक्षाबारे गहिरो संवाद गरेका हुन्।
सभालाई सम्बोधन गर्दै उम्मेदवार कानुले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा खानेपानीजस्ता आधारभूत विषयलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। “स्थानीयको आवाज संसदसम्म पुर्याउनु नै मेरो मुख्य लक्ष्य हो,” उनले भने, “विकासका नाममा हुने बेथिति र भ्रष्टाचारको अन्त्य गर्दै पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना आवश्यक छ।”
स्थानीय सहभागीहरूले कृषि उत्पादनको उचित मूल्य, युवाका लागि रोजगारीको अवसर, गुणस्तरीय स्वास्थ्य सेवा र सुरक्षित सडक पूर्वाधारको माग राखेका थिए। ती सुझावहरूलाई आत्मसात् गर्दै कानुले जनताको सहभागितामै आधारित नीति निर्माण र कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले परिवर्तनका लागि नयाँ सोच र स्वच्छ राजनीतिलाई समर्थन गर्ने धारणा व्यक्त गर्दै सुशील कुमार कानुलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्: