सिरहा । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादव माथि अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका हुन् ।
स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए।
प्राप्त खबर अनुसार यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको बताए। तर ‘मैले पनि कसैले गोली दागेर हत्या गरेको भन्ने कुरा सुनेको छु। घटनाबारे थप बुझ्दै छु। अस्पतालतर्फ जाँदै छु’ उनले बताए।
त्यसतै जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश बहादुर पालले पनि प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको जानकारी दिए। तर कसले र किन गोली हानेको हो भन्ने विषयमा हालसम्म केही खुल्न नसकेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्: