रौतहट, २ भदौ । रौतहटमा चलिरहेको अंशबण्डा सम्बन्धी मुद्दा एकाएक चर्चामा आएको छ, जब चन्द्रपुरकी रोशनी कुमारी साहले अदालतमा प्रस्तुत गरेको कागजात नै असत्य भएको खुलासा भयो। श्रीमानको यातनाको पीडित बनेको भन्दै सार्वजनिक मञ्चमा आँसु झार्दै हिँडेकी रोशनीकै चालबाजी न्यायालयमा खुलेपछि उनको विश्वासयोग्यता प्रश्नमा परेको छ।
मालपोत अभिलेख अनुसार, रोशनी साहले ३७०२ कित्ता नम्बरको ८–८ धुर जग्गा २०७६ असोज ८ गते गणेश पौडेलबाट रु. ५ लाख १० हजारमा खरिद गरेकी थिइन्। तर अदालतमा उनले आफ्नी दिदी ललिता कुमारी रौनियारसँग रु. १९ लाख ऋण लिएर जग्गा किनेको दाबी गरिन्। प्रस्तुत विवरण र वास्तविक कागजातबीचको विरोधाभासले रोशनीले कानुनी प्रक्रियामा नै छलकपट गरेको पुष्टि गरेको छ।
श्रीमान तथा शाखा अधिकृत मिश्रीलाल साहका अनुसार उक्त जग्गा आफ्ना सन्तानको भविष्यका लागि उनले नै खरिद गरी श्रीमतीको नाममा दर्ता गरिदिएका थिए। उनले भने, “माया–विश्वासकै आधारमा नाम राखिएको जग्गा अहिले दिदी–भिनाजुको नाममा पास गर्ने षड्यन्त्र भएपछि बाध्य भएर अंशबण्डा मुद्दा हाल्नुपर्यो।”
उनले प्रस्तुत गरिएको १९ लाख ऋणपर्चीलाई असम्भव भनेका छन्। साहका भनाइमा, रोशनीका भिनाजु प्रहरीमा नायब निरीक्षक पदमा कार्यरत हुँदा साधारण तलबबाट यस्तो ठूलो रकम सापटी दिन नै सक्दैनन्। “यदि रकम वास्तवमै दिए भने त्यसको स्रोत गैरकानुनी हुनुपर्छ, नभए रोशनीले अदालतमा सीधै झुट बोलेकी हुन्,” उनले प्रश्न उठाए।
यता, रोशनी स्वयंले कहिले श्रीमानकै सहयोगमा, कहिले आफ्नै मेहनतमा जग्गा किनेको भन्दै सार्वजनिक रूपमा फरक–फरक बयान दिइरहेकी छन्। सामाजिक सञ्जालमा फैलिएका भिडियोले उनको कथनमा निरन्तर विरोधाभास देखाएको छ।



प्रतिक्रिया दिनुहोस्: