रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत तीन वटा विद्यालयकोलागि विनियोजन गरेको जम्मा १ करोड ६५ लाख रुपैयाँको बजेट खर्च हुन नसकेर फ्रिज भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्रतिविद्यालय ५५ लाख रुपैयाँका दरले गत आर्थिक वर्ष विनियोजित बजेट फ्रिज भएको नगरपालिकाका शिक्षा संयोजक सुबोध यादवले जानकारी दिए ।
यादवका अनुसार वडा नम्बर ८ स्थित श्री मावि विजयपुर, वडा नम्बर ४ को श्री मावि टेङ्ग्राहा र वडा नम्बर ५ को श्री आधारभूत मावि, सन्तपुर दोस्तीयाका लागि ५५ लाख रुपैयाँका दरले पुँजीगत बजेट विनियोजन गरिएको थियो । विद्यालयको पूर्वाधार निर्माण, पुस्तकालय, डिजिटल सामग्री खरिद, कक्षा कोठा स्तरोन्नतिको लागि उक्त बजेट छुट्ट्याइएको थियो ।
पालिकाका कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् महमद सेराज, प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा अधिकृत कामेश्वर सहनीबिचको भागबन्डा नमिलेको कारण उक्त रकम फ्रिज भएको निलम्बित मेयर गोपाल यादवले दाबी गरेका छन् । सेराजले तीन वटै विद्यालयबाट ७ लाख रुपैयाँको दरले कमिसन लिएको उनको दाबी छ । प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा अधिकृतले मोटो रकम हिस्सा खोज्न थालेपछि कार्यविधि समेत नबनेर रकम फ्रिज भएको उनले बताए ।
२०७९ को निर्वाचनमा नेकपा माओवादीबाट मेयरमा उम्मेदवार बनेका अजय तिमल्सिनाले पनि कार्यवाहक मेयरका श्रीमान् सेराज र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत यादवको कमिसनकै चक्करमा लागेर तीन वटा विद्यालयको रकम फ्रिज भएको दाबी गरे ।
तिमल्सिनाले भने ‘यो घटना सामान्य होइन, हजारौँ बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले यसको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ ।
कार्यवाहक मेयर अम्बेया खातुन र उनका श्रीमान् महमद सेराजले आफूहरूमाथि झुटा आरोप लगाइएको जिकिर गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत भारत यादव र लेखा अधिकृत कामेश्वर सहनीका कारण विद्यालय भवन निर्माणका लागि आएको रकम फ्रिज भएको उनीहरूको दाबी छ ।
प्रमुख प्रशासकीय अधिकृत भरत यादव भ्रष्ट ब्यक्तिको रुपमा चिनिन्छ, उनि भ्रष्टाचारकै कारण तृष्कृत छन्, उनी तत्कालिन जिल्ला बिकास समिति बारामा हुदा भ्रष्टाचारमा निलम्बित भएका थिए।
तत्कालीन मेयर गोपाल प्रसाद यादव एक वर्ष अघि विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर निलम्बित छन् । त्यस पछि उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारीमा छिन् । अम्बेया खातुन कार्यवाहक मेयर भए पनि नगरपालिकाको सम्पूर्ण काम उनकै श्रीमान् सेराजले अप्रत्यक्ष रूपले हेर्दै आएका छन् । र उनले नै हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्: