काठमाडौं । आज विशेश्वर प्रसाद कोइराला (विपी कोइराला) को ४३ औं स्मृति दिवस मनाइदै ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज ४३ औं स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो। विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
उनी जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हक हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।
बीपी स्मृति दिवस केवल सम्झना गर्ने दिन मात्र होइन, यो उनको विचार र सिद्धान्तलाई पुनर्जागृत गर्ने अवसर पनि हो । उनको प्रजातान्त्रिक समाजवाद, मेलमिलापको नीति र राष्ट्रिय एकताको दर्शनले आजको नेपालमा सामाजिक न्याय, समावेशी विकास र कूटनीतिक सन्तुलन कायम गर्न मार्गदर्शन गर्न सक्छ । जलवायु परिवर्तन, आर्थिक मन्दी, युवा पलायन र डिजिटल विभाजनजस्ता समसामयिक चुनौतीलाई समाधान गर्न बीपीको विचारले नयाँ दृष्टिकोण र प्रेरणा प्रदान गर्छ ।



प्रतिक्रिया दिनुहोस्: