आजदेखि सुनचाँदीमा २ प्रतिशत विलासिता कर लागू, उपभोक्तालाई भार

२०८२ साउन २

काठमाडौं । आजदेखि सुन चाँदीको खरिद बिक्रीमा विलासिता कर लाग्न सुरु भएको छ । सरकारको आर्थिक विधेयकमार्फत व्यवस्था भए बमोजिम कारोबारको २ प्रतिशत विलासिता कर लाग्न सुरु भएको हो ।

सरकारको आर्थिक विधेयकमार्फत गरिएको यो व्यवस्थाले अब सुनचाँदी खरिदबिक्रीमा उपभोक्ताले थप मूल्य चुकाउनुपर्ने भएको छ । यो कर प्रत्येक पटकको कारोबारमा लागू हुनेछ। यस अनुसार, बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा, र ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत २ प्रतिशत विलासिता कर लाग्नेछ । पछिल्लो आर्थिक वर्षमा १० लाख रुपैयाँभन्दा बढीको खरिदमा मात्रै लाग्ने गरेको यो कर अब भने जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि तिर्नुपर्नेछ ।

उक्त कर खारेजी गर्न माग गर्दै अहिले व्यवसायीहरू आन्दोलन गर्दै आएका थिए । सरकारसँग ‘समस्या समाधान गर्ने’ सहमति भएर आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता भने लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्: