मधेशमा खानेपानीको हाहाकार, मधेश सरकार द्वारा सुखाग्रस्त क्षेत्र घोषणा

२०८२ असार २७

मधेश सुक्खा क्षेत्र घोषणा, किसानलाई राहत दिन आग्रह

रामविनय शाह

वीरगञ्ज । मधेश प्रदेशका किसानहरूलाई असार महिनामा वर्षा नहुँदा र सिँचाइको अभावले धान रोपाइँ हुन सकेको छैन भने अर्कोतिर खानेपानीका मुहान समेत सुक्न थालेपछि पानीको हाहाकार छ ।

असार महिना सकिनै लाग्यो, तर मधेश प्रदेशका अधिकांश किसानहरूले धान रोप्न पाएका छैनन् । समयमा वर्षा नहुँदा खेत बाँझै छ । रोपाइँका लागि तयार पारेको धानको बिउ आधा डढेर नष्ट भइसकेको छ । बिउ सुकेपछि किसानहरूलाई चिन्ता थपिएको छ ।

गत वर्ष नहरबाटै पानी लगाएर खेती हुन्थ्यो । यस वर्ष नहर पनि सुक्यो, पानी पनि परेन । सबै किसानको हालत यस्तै छ । गाउँ गाउँमा सिंह दरवार भए पनि सिंचाई विकास तिर स्थानीय सरकारको खासै चासो देखिदैन बारा परवानीपुरका किसान रामेश्वर पटेलले बताउँछन् ।

मधेश सरकारले चालु आर्थिक वर्षमा कृषि विद्युतीकरणको लागि विनियोजन गरेको ४८ करोड रुपैयाँ कार्यान्वयन नभई फ्रिज भएको छ । सिंचाइ भन्दा भौतिक पूर्वाधार क्षेत्रमा धेरै बजेट लगानी गर्ने सरकारको प्रवृत्ति छ ।

मनसुन सुरु भइसके पनि वर्षा नहुनु र सिँचाइको व्यवस्था नहुँदा मधेश प्रदेशका ८ वटै जिल्लाका किसानको खेत बाँझै छ ।

सन्तोषजनक रोपाइँ नभएको र रोपाइँ भइसकेको बालीनाली समेत सुक्न थालेको र पानीको हाहाकार भएपछि मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बिहीबार साँझ मधेश प्रदेश सरकारको बसेको मन्त्रिपरिषद् बैठकले वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै  संघीय सरकारसँग राहत प्याकेजको माग गरेको छ भने दातृ संस्थासँग सहयोगको लागि अनुरोध गरेको छ ।

“इनार सुक्यो । मोटर चल्नै छाड्यो । अब छिमेकीको बोरिङबाट पानी खानुको विकल्प छैन, खानेपानीका मुहान समेत सुक्न थालेपछि पानीको हाहाकार छ । चापाकल र इनार सुकेपछि छिमेकीको बोरिङबाट पानी खानुपरेको पर्साका एक स्थानीयले बताए ।

कुनै कुनै चापाकलमा थोरै पानी आउँछ । लाइन बसेर पालो कुर्नुपर्छ । तर पनि पर्याप्त पानी पाउन गाह्रो छ,’ वीरगन्ज घडिअर्वाकी एक स्थानीय महिलाले बताइन् ।

खानेपानीको “खानेपानी” संकट समाधानका लागि आवश्यक स्रोत–साधन परिचालन गर्ने निर्णय समेत मधेश सरकारले गरेको छ । सरकारले खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्यांकर सहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: