रसुवामा आएको बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

२०८२ असार २४

काठमाडौं । रसुवागढीमा गएराति अविरल वर्षासँगै आएको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

चीनको तिब्बत क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ ।

चीनको तिब्बत क्षेत्रतर्फको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित रहेको मितेरीपुल भाँचिएको छ । आज बिहान ३:१५ बजे गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल जनाएको छ ।

यस्तै बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७/८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ । साथै, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै बिहान ५:५५ बजे तातोपानीस्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेसी–रसुवागढी सडक खण्डमा पनि बाढी र पहिरोले सडक पूर्णरूपमा कटान गर्दै अवरुद्ध बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: