वीरगञ्ज, २३ पर्सा । पत्रकारहरूमाथि गालीगलौज तथा दुर्व्यवहार गरेका जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार रिपोर्टिङको क्रममा पत्रकारहरूसँग दुर्व्यवहार गरेको आरोपमा ठाकुरविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरिएको थियो।
प्राप्त जानकारी अनुसार, वीरगञ्जको क्लासिक बैंक्वेटमा आयोजित कार्यक्रममा रिपोर्टिङका लागि पुगेका पत्रकारहरू — सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी र आनन्दकुमार पटेल — माथि ठाकुरले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए। घटनापछि ठाकुरलाई प्रहरीले छलफलका लागि बोलाएको थियो, तर छलफलबाट कुनै निष्कर्ष ननिस्किएको सहभागी पत्रकारहरूले जनाएका छन्।
यस घटनापछि पर्साका पत्रकार समुदाय आक्रोशित भएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ। साथै, विभिन्न पत्रकार संघ–संस्थाहरूले यो घटनालाई प्रेस स्वतन्त्रता र पत्रकारको सम्मानमाथि प्रहार भएको भन्दै आपत्ति जनाएका छन्।
हाल प्रहरी घटनाको अनुसन्धानमा जुटेको बताइएको छ। पत्रकार महासंघ र पिडित पत्रकारहरूले दोषीलाई उन्मुक्ति नदिन आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस्: