काठमाडौं । काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा युनुश अन्सारीसँग १५ लाख धरौटी माग गरेको छ ।
धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले अन्सारीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
२०७६ जेठ १० गतेमा अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरूबाट प्रहरीले त्यतिबेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो ।
भारतीय नक्कली रुपैयाँ प्रकरणमा सजाय भुक्तानीपछि अन्सारी गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फेरि नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरेको थियो ।
सीआईबीबो अनुसन्धान प्रतिवेदनका आधारमा गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो ।
आइतबार अदालतमा पेस गरेर बयान र थुनछेक बहस भएको थियो । आइतबार थुनछेक नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश भएकोमा अन्सारीले धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो ।
नेशनल टेलिभिजनको अध्यक्ष रहेको बेला प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्: