आलमलाई सफाई दिने न्यायाधीशमाथि कालोमोसो प्रहार, कालोमोसो गर्ने ३ जना पक्राउ (भिडियो सहित)

२०८२ जेष्ठ ३०

वीरगन्ज । उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जका न्यायाधीश डा. खुसीराम थारुलाई आज इजलासमै मोसो प्रहार भएको छ। यो घटना नेकपा बहुमतका कार्यकर्ताहरूले गराएको बताइएको छ। नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई मोसो प्रहार गरेका छन् ।

उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्राप्त जानकारीअनुसार, न्यायाधीश थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने फैसला सुनाएको थियो। यसै फैसलाको विरोधमा मोसो प्रहार गरिएको हुनसक्ने आशंका गरिएको छ।

अदालतको इजलास चलिरहेका बेला अचानक इजलासभित्रै प्रवेश गरेका कार्यकर्ताले कालोमोसो दलेपछि अदालत परिसरमा होहल्ला मच्चिएको थियो। घटनापछि सुरक्षाकर्मीले तुरुन्त इजलास क्षेत्र नियन्त्रणमा लिएका थिए।

कालोमोसो प्रहार गर्नेहरूमा प्यूठानका केन्द्रीय सदस्य किशोर कुँवर (अविनाश), सर्लाहीका पदम बहादुर मगर, र सिरहाका गर्भु महतो रहेको प्रहरीले पुष्टि गरेको छ। उनीहरू नेकपा (बहुमत) का कार्यकर्ता हुन् र पार्टीको विभिन्न तहमा जिम्मेवारीमा छन्। समूहको नेतृत्व धर्मेन्द्र बास्तोलाले गरेका थिए।

यसै सन्दर्भमा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, न्यायाधीशद्वय थारु र महर्जन नियमित पेशी सञ्चालन गरिरहेका बेला इजलास नम्बर २ मा कालोमोसो प्रहार गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट घटना योजनाबद्ध रहेको पुष्टि भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्: