देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, पूर्वी भेगमा बढी प्रभाव, काठमाडौंको प्रदूषण अझै उच्च

२०८१ चैत्र २७

काठमाडौं । देशभर अहिले सक्रिय मौसमी प्रणालीका कारण विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरी सहितको वर्षा भइरहेको छ। पछिल्ला ६ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङमा मापन गरिएको छ । मोरङमा २०० मिलिमिटर भन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वर्षासँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण केही घटेको भए पनि अझै अस्वस्थकर अवस्थामा नै रहेको छ। वायुको गुणस्तर मापन सूचक (AQI) १५० नाघेपछि सबैका लागि अस्वस्थ मानिन्छ भने हाल काठमाडौँमा एक्यूआई १९० भन्दा माथि रहेको छ। मौसमविद्हरूका अनुसार जारी वर्षाले प्रदूषणमा केही सुधार ल्याउन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्: