काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण आज पनि खतरनाक तह भन्दा माथि रहेको छ। शुक्रबार बिहान नौ बजे गरिएको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) को मापन अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्वकै पहिलो स्थानमा पुगेको छ।
यतिबेला वायु प्रदूषणको दृष्टिकोणले भारतको राजधानी दिल्ली विश्वको दोस्रो स्थानमा छ भने पाकिस्तानको कराँची तेस्रो स्थानमा रहेको छ।
इन्डेक्सका अनुसार अहिले काठमाडौंको समग्र वायु गुणस्तर सूचाङ्क (एक्यूआई) ३५० रहेको छ। प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले ३४३ छ । त्यसैगरी वायु प्रदूषणको दृष्टिकोणले तेस्रो स्थानमा रहेको कराँचीको एक्यूआई १६६ रहेको छ।
चिकित्सकहरूले विगत केही दिनयता काठमाडौंको वायु मानव स्वास्थ्यका लागि हानिकारक तहमा पुगेको बताएका छन् । विगत लामो समय देखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुवाँका कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च भएको विज्ञहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीको स्थानमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गर्दै आएको छ । चिकित्सकहरूले यस्तो अवस्थामा साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझायका छन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ ।
काठमाडौंको वर्तमान एक्यूआई ३५० रहेकाले यो खतरनाक तहमा पुगेको छ। स्वास्थ्य विज्ञहरूले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वासका बिरामीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परेमा उच्च गुणस्तरको मास्क प्रयोग गर्न उनीहरूको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्: