जनकपुर । मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा आज पनि होली मनाइँदैछ । मधेशका धेरै ठाउँमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदाको दिन होली पर्व मनाउने परम्परा रहेको छ ।
मिथिलामा माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट फगुवा (होली) मनाउने चलन छ । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन हिजो जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ । माध्यमिकी परिक्रमाको एक सय ३३ किलोमिटर वृत्तभित्र परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाइने चलन छ ।
महोत्तरीका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहा सहितका सात ठाउँमा आज होली मनाइँदैछ । मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन् ।
त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा शुरू हुने तिथिको दिन पारेर मधेशका धेरैजसोले होली पर्व मनाउने गर्छन् । यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज फगुवा (होली) मनाउदै छन् ।



प्रतिक्रिया दिनुहोस्: