रौतहट । रौतहट प्रहरीले चेकजाँच गर्ने क्रममा ईशनाथ नगरपालिकाबाट स्रोत नखुलेको दुई लाख रकम सहित एक जनालाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका वडा नं.४ लतमरी स्थित सडक खण्डमा चेकप्वाईन्ट राखेर आवतजावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी मठिया महुलिया रौतहटबाट खटिएको प्रहरी चेकजाँच टोलीले ईशनाथ न.पा.वडा नं. ५ बस्ने ३१ को सन्तोष कुमार साहको साथबाट स्रोत खुलाउन नसकेको नेपाली रुपैया बरामद गरेको जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको भारतिय नम्बर प्लेटको द्यच्ण्छब्ल्डज्ञज्ञठ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्दा साहको साथबाट २ लाख ९ सय ६० नेपाली र ७६५ भारु फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । बरामद भएको रकम , मोटसाईकल सहित साहलाई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले बताएको छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो । विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ ।
नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य मानिएको छ ।तर नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत पछिल्लो समय यहाँ हुण्डी कारोबार हुने गरेको स्थानियको भनाई छ । सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले हुण्डी कारोबारलाई निरुत्साहित गर्न निगरानी बढाउँदै आएको छ । पछिल्लो तथ्याङ्ग हेर्दा रौतहटको सिमावर्ति क्षेत्रमा हुण्डी कारोबार मौलाएको देखिन्छ । अवैधानिक मानिएको यस कार्य लुकीछुपी गर्ने समुह नै भएकाले यस तर्फ सरोकारवाला निकायले ध्यान दिनु पर्ने स्थानियको माग छ । हुण्डी कारोबार गर्नेहरुले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । त्यसैले रकम हिनामिना भएमा कानुनी उपचार पाउन समेत कठिन छ । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको रकम बरामद गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्: