चरिकोट । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकामा अवस्थित कालिन्चोक भगवती मन्दिर धार्मिक र प्राकृतिक सौन्दर्यताको दृष्टिकोणले महत्त्वपूर्ण छ। विशेषगरी पुष, माघ र फागुन महिनामा हिउँ पर्ने भएकाले कालिन्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मनमोहक (मन्त्रमुग्ध) बनाउँछ । 
गौरीशंकर संरक्षण क्षेत्रमा अन्पतर्गत पर्ने मनमोहक प्राकृतिक सौन्दर्यताकै कारण केही वर्षदेखि कालिन्चोक भगवती हिन्दु धर्मावलम्बीका लागि एक प्रसिद्ध तीर्थ स्थलको रूपमा विकास हुँदै गएको छ। समुद्री सतहबाट ३८४२ मिटर उचाइमा रहेको यो क्षेत्रमा दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको छ ।
कालिञ्चोकमा सबैभन्दा उच्च बिन्दुमा रहेको ठाडो पहाडको माथी कालिन्चोक भगवतीको मन्दिर छ। त्यहाँ आफैँ उत्पन्न भएको शिव–पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो । यो ठाउँमा लेक लाग्ने भएकाले यात्रुहरूले पहिले नै तयारी भएर जानुपर्छ। यहाँको प्रमुख आकर्षण कालिन्चोक भगवती तीर्थ नै हो।
यहाँको जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ। मन्दिर परिसरमा परापूर्वकालमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान रहेको पुजारीहरूले बताए।
कुरी बजारबाट करिब १ घण्टाको पैदल दुरीमा रहेको कालिन्चोक भगवतीको मन्दिर अब भने केबलकारमा जान सकिन्छ । केही वर्ष देखि सञ्चालनमा आएको केबलकारको सुविधाले अब भने भगवतीको दर्शन गर्न हिँड्नु पर्ने बाध्यता हटेको छ ।



प्रतिक्रिया दिनुहोस्: