१७ वर्षदेखि विद्यार्थीहरु बोरामै बसेर पढ्न बाध्य

२०८१ पुस १०

गौर । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं.१ स्थित शितलपुरमा रहेको प्राथमिक  विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर पढिरहेका छन् । स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।

आर्थिक अभावमा विद्यालयको पक्की भवन र फर्निचरहरू नहुँदा बालबालिका दुई वटा स–साना टहरामा पढिरहेका छन् । कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको गुनासो गरिन्। अर्का विद्यार्थी सुबोधकुमार पटेलले फर्निचर र भवन भए पनि पढ्न सहज हुने बताए ।

विद्यालयमा चार जना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । विद्यालयमा एक सय ७५ जना विद्यार्थी छन् । पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गएको साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्: