तराई – मधेसमा छठ पर्वको रौनक सुरु

२०८१ कार्तिक १९

वीरगञ्ज । तिहार सकिएसँगै तराई-मधेसमा छठ पर्वको रौनक सुरु भएको छ ।

अहिले वीरगन्ज लगाएत तराई–मधेसमा छठको रौनक सुरु भएको छ । कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ ।

नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रूपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् । बाँसका डाला, नाङ्लो, ढकिया, नारिवल, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक सामग्री किनमेल गर्न स्थानीयवासी व्यस्त छन् ।

आस्थाका रुपमा मनाइने छठ पूजा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइन्छ ।छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, नदी , तालतलैया लगायतका जलाशयलाई सजाउने कार्य तीव्र बनेको छ । वीरगञ्जको मुख्य केन्द्रमा रहेको घडीअर्वा पोखरी, रानीघाट र मुड्ली पोखरा त्रिभुवन राजमार्गको वीरगन्ज -पथलैया औधोगीक करिडोर अन्तर्गत रहेका सिर्सिया नदीको जितपुर , परवानीपुर र मुख्यतः परवानीपुरको चैनपुरमा रहेको पोखरीलाई  दुलही झैँ सिंगार्न सुरु गरिएको छ ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने (नहाए खाएके), दोस्रो दिन खरना,(रसिआव रोटी), तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घय दिएर विधिवत् रूपमा छठ पर्व समापन हुने गर्दछ ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिवार्य रूपमा बार्ने चलन रही आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: