उपराष्ट्रपति रामसहाय यादव द्वारा तिहारको शुभकामना

२०८१ कार्तिक १५

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले तिहार लगायत पर्वको देशवासीको नाममा शुभकामना ब्यक्त गरेका छन् ।

तिहार पर्व, २०८१ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्ने तर्फ सचेत रहन अनुरोध गरे ।

उपराष्ट्रपति यादवले यस पर्वले सामाजिक सौहार्दता, भाइचारा एवं राष्ट्रिय तथा सामुदायिक एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे।

तिहार धार्मिक, सांस्कृतिक र सामाजिकताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण पर्व हो । यो एउटा पर्व मात्रै होइन नेपाली संस्कृति र परम्पराको अभिन्न हिस्सा पनि हो ।

मुख्यतः हिन्दू, जैन र सिख धर्मावलम्बीले अत्यन्तै आस्था र सद्भावका साथ यो पर्व मनाउँछन् । नेपालमा विभिन्न धर्मावलम्बीको बसोबास रहेकाले अन्य धर्मका अनुयायीहरू पनि आफ्ना इस्टमित्र र छरछिमेकीसँग मिलेर यो पर्व सौहार्दताका साथ मनाउनु हाम्रो मौलिक विशेषता भएको उपराष्ट्रपति यादवको भनाई छ ।

तिहार विभिन्न रीतिरिवाज, रहनसहन, परम्परा र अनुष्ठान समावेश भएको विविधतामा एकताको सन्देश वाहक पर्व पनि भएको र यस पर्वका अवसरमा गरिने घरआँगनको सरसफाइ, घर घरमा दीप प्रज्वलन, धनतेरस, देउसी भैलो, कागतिहार, कुकुरतिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवर्धन पूजा, हुर्राहुर्री, डाढ, म्हः पूजा र भाइटीका (भ्रातृ द्वितीया) आदि यसका सांस्कृतिक विशेषताका रहेका सन्देशमा उल्लेख छ । प्रकाशमय यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवं दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्: