वीरगन्ज —वीरगन्ज महानगरपालिकाले भू–तथ्यांकको व्यवस्थापन गर्न वैज्ञानिक ठेगाना प्रणालीका लागि ड्रोनमार्फत भू–सर्वेक्षण सुरु गरेको छ । यसका लागि ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न ड्रोनमार्फत सर्वेक्षण सुरु गरिएको मेयर राजेशमान सिंहले जनाए ।
नेपाल-भारत प्रवेश विन्दु शंकराचार्य गेटबाट शुक्रबार मेयर सिंहले ड्रोन उडाएर तथ्यांक संकलन कार्य सुरु गरेका हुन् । मेयरका अनुसार बढ्दो सहरीकरणसँगै जनघनत्व वृद्धि हुँदै गए पनि भू–तथ्यांक चुस्त नहुँदा तथ्यांकमा आधारित उपयोग निर्धारण नीति कार्यान्वयनमा कठिनाइ हुँदै आएको थियो ।
‘भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणालीमार्फत महानगरलाई व्यवस्थित र स्मार्ट नगरका रुपमा विकास गर्न यो प्रणालीले सहयोग पुर्याउँछ,’ मेयर सिंहले भने, ‘वैज्ञानिक ठेगाना प्रणाली लागू भएपछि तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुग्छ । त्यसले कर प्रणालीमा सुधार ल्याई कर संकलनमा समेत वृद्धि हुनेछ ’। भू–तथ्यांक व्यवस्थापन भएपछि यसले समग्र महानगरपालिकाको समृद्धिमा सहयोग पुग्ने उनले बताए ।
युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र दि एशिया फाउण्डेशनको डाटा फर डेभलमेन्ट कार्यक्रमअन्तर्गत यो परियोजना सुरु गरिएको हो । महानगरपालिकाको ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न नक्सा प्रालि र जीओभेसन प्रालिको संयुक्त प्राविधिक साझेदारीमा ड्रोन परिचालन गरिएको हो । ड्रोनमार्फत ३२ वटै वडाको तथ्यांक संकलन गर्न १० दिन लाग्ने छ । त्यसपछि तथ्यांकको प्रशोधन गरी उपयोगमा ल्याउन केही समय लाग्ने सर्वेक्षणमा संलग्न नक्सा प्रालिका प्राविधिकले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्: