बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई १ लाख राहत दिने कोशी सरकारको निर्णय

२०८१ अशोज १३

विराटनगर । भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएकाहरूको परिवारलाई कोशी प्रदेश सरकारले जनही १ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा आइतबार बसेको प्रदेश विपद् कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता छन् । पाँचथरमा पाँच, सोलुखुम्बुमा पाँच, धनकुटामा दुई, उदयपुरमा एक, झापामा २ र इलाममा १ जना जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर पाँचथरमा ५, मोरङमा १ र झापामा १ बेपत्ता छन् ।

यस्तै बाढी पहिरोबाट ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ भने ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश विपद् कार्यकारी समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्: