काठमाडौँ । शनिबार केन्द्रीय सुरक्षा समितिको बैठकपछि बोल्दै गृहमन्त्री लेखकले सुरक्षित स्थानमा बस्न र आफ्नो नजिक जोखिममा रहेकाहरुलाई सहयोग गर्न आग्रह गरे ।
गृहमन्त्री लेखकले नख्खुमा टहरामाथि बसेका मानिसहरूलाई भिजिबिलिटीका कारण हेलिकोप्टरमार्फत उद्धार गर्न नसकेको बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दागर्दै पनि बचाउन सकेनौ । यसमा दुःख व्यक्त गर्न चाहन्छु । किनभने हेलिकोप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटीका कारणले सकिएन ।
उनले जमिनबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले रेस्क्यु गर्ने क्रममा सशस्त्र प्रहरीकै मानिसहरूलाई समेत बगाएको र पछि उद्धार समेत गरिएको जानकारी दिए ।
मन्त्री लेखकले जोखिममा परेका सबै नागरिकको उद्दारलाई सरकारले प्राथमिकतामा राखेको बताए । नख्खु खोलामा आएको बाढीले शनिबार बिहान उद्दारको पखाईमा रहेका ३ जनालाई बाढीले बगाएको थियो । साथै मन्त्री लेखकले अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको र त्यसको जानकारी लिने क्रम जारी रहेको बताए ।
उनले भने, ‘सरकारले उद्दार, राहत, घाइतेको उपचारमा गम्भीरतापूर्वक काममा गर्नेछौं । सुरक्षित स्थानमा बस्न र आफ्नो नजिक जोखिममा रहेकाहरुलाई सहयोग गर्न आग्रह छ।



प्रतिक्रिया दिनुहोस्: