काठमाडौं । अविरल वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरुमध्ये धेरैजसो कोशी प्रदेशका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ ।
मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ। यसैगरी झापाका शनिश्चरे, अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ ।
२४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ । झापापछि इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ । उदयपुरको सुन्दरपुरमा अत्यधिक वर्षा भएको छ।
मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको सङ्केत गरेको छ ।
सप्तरीका बरमझिया र रूपनी बजारमा वर्षाको तह पार गरेको छ ।
हाल देशभर अधिकांस स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टाका लागि देशभर नै मनसुन सक्रिय रहने छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्: