तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कार्यवाही गर्ने : जिल्ला प्रशासन काठमाडौँ

२०८१ भदौ १३

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्व भड्किलो ढंगले नमनाउन अपिल गर्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरे/गराए कानुनबमोजिम कारबाही गर्ने सुचना प्रकाशित गर्दै चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) ऐन २०३३ लाई मध्यनजर गर्न गरी ‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे / गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारवाही हुने व्यहोरा‌ सूचनाद्वारा सबैमा जानकारी गराइएको छ’।

विगतको तुलनामा हालका वर्षहरुमा तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरु बढ्दै गएको प्रशासनको ठहर छ । ‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ आफ्नो परम्परा एवम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्नु/नगराउनु हुन हार्दिक अनुरोध छ’ सूचनामा भनिएको छ ।

पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएको भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: