तनहुँ बस दुर्घटना अपडेट : पोखरामा पोस्टमार्टम गरेर शव बुझाइने

२०८१ भदौ ७

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ ।

शवहरु पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार पोष्टमार्टम पछि दूतावासमार्फत् शव आफन्तलाई जिम्मा लगाइने छ ।

बसमा सवार ४३ मध्ये दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये २६ जनाको शव आँबुखैरेनी अस्पतालमा संकलन भएको थियो भने एक जनाको उपचारको क्रममा चितवनमा मृत्यु भएको थियो । मृत्यु हुनेहरु सबै भारतीय नागरिक भएका कारण अहिले केहीबेर अघि नेपालस्थित भारतीय दूतावासका प्रतिनिधि आँबुखैरेनी पुगेका छन् ।

भारतको गोरखपुरबाट पर्यटक लिएर आएको बस भदौ ४ गते बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको थियो । भैरहवाबाट पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिँडेका थिए । उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान ११ .३० बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।

दुर्घटनामा घाइते १६ जनालाई उपचारकालागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: