हेटौंडा । बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिं लामाले दाबी पेश गरेका छन् ।
कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदकाे समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार नै आह्वान गरेका थिए ।
मंगलबार साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेकाे प्रदेश प्रमुख कार्यालयले जानकारी दिएकाे छ । नुवाकाेटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलाे पटक मुख्यमन्त्री बन्दैछन् ।
बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस-एमालेबीचको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएकाे कांगेस नेता लामाले जानकारी दिए ।
११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदकाे समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ६४ सांसद छन् । प्रदेश सभामा नेकपा माओवादी केन्द्रकाे २१, राप्रपाकाे १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) काे ७, नेमकिपाकाे ३ र हाम्राे नेपाली पार्टीको २ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्: