जनमत, जसपा र राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

२०८१ असार २७

काठमाडौँ —जनमत, जसपा र राप्रपाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्री दाहालले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । त्यसअघि बिहीबार दलहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने बारे निर्णय लिएका हुन् ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बिहीबार बसेको पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिएका छन्। प्रतिनिधिसभामा जनमतका ६ सांसद छन् ।

जनमतले नेपाली कांग्रेस र नेकपा  (एमाले) बीच भएको समझदारी अनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय समेत गरेको छ। प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी विश्वासको मत दिदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने हामीले निर्णय गरेका छौं प्रवक्ता यादवले भने।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । सो पार्टीको बिहीबार भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री दाहालबाट संविधानका धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्: