नवलपरासी / नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेको छ। यससँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित आग्रह गरिएको छ।
नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्नदेखि नदीले सतर्कता तह पार गरेको हो। अहिले नदीमा पानीको सतह ७.३७ मिटर पुगेको छ। नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ।देवघाटस्थित जल मापन केन्द्रमा पानीको सतह सात दशमलव तीन मिटर पुग्दा सतर्कता तह र नौ मिटर पुगेपछि खतराको तह पार गरेको मानिन्छ। देवघाटस्थित नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि नवलपुरका नदी नटीय क्षेत्रहरू डुबानमा पर्ने गर्दछन्।
यसैबीच, नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए।
जिल्लास्थित विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर काम गरिरहेको छ”, प्रजिअ रिजालले भने, “हामीले स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई समेत उच्च सतर्क रहन आग्रह गरेका छौँ।”
नवलपुरमा नारायणी नदी र कालीगण्डकी नदीको बाढीबाट डुबान तथा कटानको उच्च जोखिम रहेको भन्दै उनले अन्य खहरे खोलाहरूमा आउने बाढीले डुबान हुने गरेको छ।कालीगण्डकी नदीको बाढीबाट बौदिकाली, बुलिङटार गाउँपालिका र गैँडाकोट नगरपालिकाको नदी नटीय क्षेत्र प्रभावित हुने गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी रिजालले नारायणी नदीको बाढीबाट गैँडाकोट, कावासोती, देवचुली, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका प्रभावित हुने गरेको जानकारी दिए। (तातोखबर)



प्रतिक्रिया दिनुहोस्: