मन्त्रीहरु नै हुण्डी कारोकारमा संलग्न छन् : प्रभु साह

२०८१ असार २४

काठमाडौं / आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मन्त्रीहरु नै हुण्डी कारोबारमा संलग्न रहेको गम्भिर आरोप लगाएका छन्। कालोधनलाई सेतो बनाउन सरकारका मन्त्रीहरु नै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनले बताए।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घराना मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको भन्दै त्यसले मुलुकलाई आर्थिक रुपमा झनै बर्बाद बनाउने बताए।

उनले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए।

उनले भने, ‘आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो। अर्थतन्त्र तहसनहस छ। भ्रष्टाचार दिन दहाडै बढ्दो छ। सुन क्विन्टलका क्विन्टल नेपाल आइरहेका छन्। यो अवस्था नेपालमा छ। हुण्डी कारोबार के नेपालमा नियन्त्रण गर्नैं नसकिने हो? नेपालको कानूनले यसलाई ठूलो अपराध ठानेको छ। तर सरकारले यसलाई किन नियन्त्रण गर्न सक्दैन? सरकार र उच्च ओहोदाका मान्छेहरु हुण्डी कारोबारमा संलग्न छन्। मन्त्रीहरु, ठूल्ठूला व्यापारिक घरानाहरु हुण्डी कारोबारमा संलग्न छन्। बैंकहरु आफैँ अप्रत्यक्ष रुपमा त्यसमा संलग्न छन्। र, नेपाल यसरी बर्बाद हुँदै छ। राजस्व दिनदहाडै छली हुन्छ। भन्सार छली हुण्डीकै कारण भएको छ। हुण्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ। सरकार आफै हुण्डी कारोबारमा संलग्न छ।’

अध्यक्ष साहले बैंकहरु समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्: