जनकपुरधाम । आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले मधेस सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको हो ।
कांग्रेस स्रोतका अनुसार पर्साको जनार्रदन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको छ ।
कांग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् ।
प्रदेश सभामा कांग्रेसको २२ सिट छ । २५ सिटको भएको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ ।
एमालेले कांग्रेस र आफूहरुको सरकारमा समान हैसियत हुन नसक्ने बताएको छ । कांग्रेसलाई चार मन्त्रालय दिए एमालेले थप एक मन्त्रालय पाउनुपर्ने उसको माग छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेलाई यस विषयमा छलफल गर्न बोलाएका छन् ।
केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि मधेशमा जनमत सरकारलाई निरन्तरता दिने सहमत भएको थियो ।
कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ६ मन्त्रीलाई शनिबार बर्खास्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्: