मधेश प्रदेशमा माओवादी सहित चारदलका ६ मन्त्री बर्खास्त

२०८१ असार २२

जनकपुरधाम । जनमत नेतृत्वको मधेश सरकारले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेको छ ।

माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री भरत प्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री बनेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रम तथा यातायात मन्त्री उर्मिला देवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी की गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारी बर्खास्तीमा परेका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका हुन् ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको समिकरण भएपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएको छ । त्यस अनुसार मधेशमा कांग्रेसलाई प्रवेश गराउन र विश्वासको मत दिन मुख्यमन्त्रीले माओवादी केन्द्रसहित चार दललाई सरकारबाट हटाएका हुन् । कांग्रेसले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएको छ ।

शनिबार विश्वासको मत लिएपछि आइतबार कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्: