पर्साको पटेर्वा सुगौलीमा अत्याधुनिक कृषि भवनको निर्माण सुरु

२०८१ असार १५

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ सुगौलीमा करिब साढे २ करोड रुपैयाँको लागतमा अत्याधुनिक कृषि ल्याबसहितको कृषि भवन निर्माण कार्य सुरु भएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा पटेर्वा सुगौली गाउँपालिकाले २ करोड ४८ लाख रुपैयाँको लागतमा अत्याधुनिक कृषि ल्याब सञ्चालनका लागि कृषि भवन निर्माण गर्न थालेको हो।

संघ सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास (रिड)आयोजना अन्तरर्गत पालिकास्तरीय ल्याब सहितको कृषि तथा पशु सेवा केन्द्रको  भवन आज शनिबार राष्ट्रिय धान दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले कृषि भवन निर्माणको शिलान्यास गरेका छन्।

सुगौलीमा निर्माणाधीन गाउँपालिकाको प्रशासनिक भवन छेउमै निर्माण गर्न लागिएको कृषि भवनमा सञ्चालन गरिने कृषि ल्याबबाट कृषकको खेतको माटो परीक्षण, बालीामा लाग्ने रोग र किराको जाँच र पहिचान, पशुचौपायाको गोबर, पिसाब र रगतको परीक्षण, बालीमा लाग्ने रोग र किराको निदानका लागि विषादीको सिफारिस लगायतका सेवाहरू प्रवाह गरिने गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए।

पर्सामा रहेका १४ वटा पालिकामध्ये पटेर्वा सुगौली गाउँपालिकामा निर्माण गर्न लागिएको कृषि ल्याब सहितको कृषि भवन पहिलो रहेको गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले बताइन्। कृषि ल्याब सहितको कृषि भवन निर्माण भई सञ्चालनमा आएपछि पटेर्वा सुगौली सहित पर्साका उत्तरी भेगका किसानहरूले बालीनाली र पशुचौपायामा लाग्ने रोग र किराको उपचारका लागि सदरमुकाम वीरगंज धाउनु नपर्ने उपाध्यक्ष चौधरीले बताइन्।

अढाई तल्ले उक्त कृषि भवन निर्माणको ठेक्का काठमाडौं जोरपाटटीको सिएएम कन्ट्रक्सनल प्रालिले सकारेको छ। सम्झौता अनुसार कृषि भवन निर्माणको काम २०८२ जेठ ३ गतेभित्रमा सम्पन्न गर्नुपर्नेछ।

गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष थारु, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, कृषि शाखाकी प्रमुख सीमा चौधरी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: