एमालेले खोज्यो बिष्णु पक्राउको कारण

२०८३ असार १४

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउ प्रति कडा आपत्ति जनाउँदै त्यसको वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

एमालेका तर्फबाट सांसद पुष्पराज कँडेलले प्रतिनिधिसभा बैठकमा बिष्णु पौडेल पक्राउको विषय उठाउँदै उनको पक्राउ राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाए।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सरकारले पौडेललाई पक्राउ गरेपछि संसदमा धारणा राख्दै कँडेलले यो घटना विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाइएका आरोपकै निरन्तरता भएको दाबी गरे।

सरकारले उच्च पदस्थ व्यक्तिमाथि पनि कारबाही भइरहेको देखाउने, विपक्षी दललाई त्रसित बनाउने र एमालेको छवि धुमिल पार्ने उद्देश्यका साथ पौडेललाई पक्राउ गरेको आरोप लगाए।

‘विष्णु पौडेल निर्दोष हुनुहुन्छ। उहाँमाथि राजनीतिक प्रतिशोध साँधिएको छ,’ कँडेलले संसदमा भने।

सरकारले करका दरसम्बन्धी सूचना चुहाएर अनियमितता गर्ने तर त्यसको दोष अरूमाथि थोपार्ने प्रवृत्ति देखाएको आरोपसमेत लगाए। उनले कुनै ठोस आधारबिना पक्राउ गरिएको भन्दै विष्णु पौडेललाई तत्काल रिहा गर्न सांसद कँडेलले सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्: