काठमाडौं । सरकारले संवैधानिक परिषद्को बैठक बस्नकालागि गणपूरक संख्या सम्बन्धी व्यवस्था अध्यादेशमार्फत स्पष्ट पारेको छ । नयाँ प्रावधान अनुसार ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४ राखिएको छ ।
मंगलबार जारी संवैधानिक परिषद्कोअध्यादेशको दफा ६ को उपदफा (४) अनुसार परिषद्को बैठकमा अध्यक्षसहित कम्तीमा ४ जना सदस्य उपस्थित भएमा मात्रै गणपूरक संख्या पुगेको मानिनेछ । यसरी ४ सदस्यको उपस्थिति कुल सदस्य संख्याको बहुमत हुने भएकाले बैठक वैधानिक रूपमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको हो ।
संवैधानिक परिषद्का अध्यक्ष र कम्तीमा तीनजना सदस्य उपस्थित भएको बैठकमा अध्यक्ष र दुईजना सदस्य गरी कम्तीमा तीन जनाको निर्णय परिषद्को निर्णय मानिने व्यवस्था अध्यादेशको दफा ६ को उपदफा (५) को स्पष्टीकरणको खण्ड (ग) मा छ ।
अध्यक्ष र पाँचजना सदस्य गरी परिषद्को पूर्ण (छ जना) उपस्थित हुँदा यो संख्या बिजोर नभई जोर भएकोले कुनै प्रस्ताव उपर निर्णय गर्दा मत बराबर अर्थात् तीन/तीनको संख्या भएको खण्डमा परिषद्को अध्यक्ष सहमत भएको पक्षमा बहुमत भएको मानेर निर्णय गर्ने व्यवस्था अध्यादेशमा छ ।
संवैधानिक परिषद् संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने सर्वोच्च निकाय हो, जसको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस्: