विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह

२०८३ बैशाख ३

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वकै प्रतिष्ठित म्यागजिन ‘टाइम’ को सन् २०२६ का १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा परेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा परेका छन् । उनलाई राजनीतिक नेतृत्वतर्फ समावेश गरिएको हो।

टाइम म्यागजिनले बुधबार सार्वजनिक गरेको सूचीमा प्रधानमन्त्री शाहलाई विश्वका शक्तिशाली व्यक्तिहरूको ‘लिडर’ (नेता) समावेश गरिएको छ । ३६ वर्षिय शाहलाई टाइमले ‘दक्षिण एसियाली राजनीतिमा एउटा नयाँ लहर’ र ‘नेपालको इतिहासकै कान्छा प्रधानमन्त्री’ को रूपमा व्याख्या गरेको छ ।

नेपालको इतिहासमा जंगबहादुर राणा २९ वर्षके उमेरमा प्रधनमन्त्री भएको भए पनि जनताबाट निर्वाचित कान्छा प्रधानमन्त्री बालेन नै हुन् । यो उपलब्धि नेपालको पछिल्लो राजनीतिक परिवर्तन र युवा नेतृत्वको वैश्विक स्वीकारोक्तिका रूपमा हेरिएको छ ।

टाइमले ३६ वर्षीय शाहलाई पूर्व हिप–हप कलाकार तथा नेपालको इतिहासकै कान्छो प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ। फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको उल्लेखनीय समर्थन र पुराना नेताप्रतिको असन्तुष्टिका कारण उनले सानदार जित हासिल गरेको म्यागजिनले उल्लेख गरेको छ।

टाइम म्यागजिनले यस्तो भन्यो ?

टाइमले बालेन शाहको उदयलाई केवल एक चुनावी जित मात्र नभई एउटा “पपुलिस्ट युथक्वेक” (युवा विद्रोहको लहर) को संज्ञा दिएको छ। म्यागजिनमा उल्लेख छ: ‘त्यो भारी विजय (ल्यान्डस्लाइड भिक्ट्री) गत शरद ऋतुमा भएको ‘जेन-जी’ नेतृत्वको घातक सडक विरोध प्रदर्शनबाट प्रेरित थियो, जसले भ्रष्ट र जनताको पहुँचभन्दा टाढा रहेका पुराना राजनीतिक शक्तिलाई बढारेर फाल्ने संकल्प गरेको थियो ।’

बालेनको व्यक्तित्व र उनको पृष्ठभूमिबारे चर्चा गर्दै टाइमले अगाडि लेखेको छ: ‘ईमानदारी बेच्नेहरूका लागि पैसा रूखमै फल्छ जस्तो देखिन्छ…’ भन्ने र्‍याप गाउने बालेन्द्र शाह, जो गत फागुनमा हिमालयन मुलुकको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित भए। सिभिल इन्जिनियरिङमा स्नातक गरेका शाहको गम्भीर मञ्चीय उपस्थिति र भ्रष्ट अधिकारीहरूलाई लक्षित गर्ने कडा शैलीले उनलाई चार वर्षअघि काठमाडौंको मेयर र अहिले ३ करोड नेपालीको नेता बनाएको छ ।’

दक्षिण एसियाली राजनीतिमा प्रभाव

टाइम म्यागजिनका अनुसार बालेनको उदयले दक्षिण एसियामा वर्षौंदेखि जकडिएको ‘वंशवादी राजनीति’ लाई ठूलो धक्का दिएको छ। म्यागजिनले यसलाई संस्थापन पक्षलाई झस्काउने एउटा घटनाका रूपमा चित्रण गरेको छ ।

म्यागजिनमा भनिएको छ, ‘बालेनको उदय जति युवाहरूको आवेग हो, त्यति नै दक्षिण एसियाको पुरानो र जकडिएको वंशवादी राजनीतिमाथिको पूर्ण अस्वीकृति पनि हो, जसले यस क्षेत्रका स्थापित शक्तिहरूलाई अहिले तर्साएको छ ।’

 चुनौती र अपेक्षा

काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारका कार्यहरूलाई टाइमले प्रशंसा गरेको छ । तर, प्रधानमन्त्रीका रूपमा उनको अबको यात्रा चुनौतीपूर्ण रहेको पनि औंल्याएको छ ।

टाइम म्यागजिनको विशेष टिप्पणीमा भनिएको छ: ‘टुपाक शाकुर र फिफ्टी सेन्टका भक्त दाबी गर्ने यी नेताले मेयरका रूपमा प्रशासनिक ढिलासुस्तीलाई चिर्दै फोहोर व्यवस्थापन र शिक्षामा जुन सुधार गरे, के त्यसलाई उनले राष्ट्रिय स्तरमा पनि कार्यान्वयन गर्न सक्लान् ? ‘सबै नेताहरू चोर हुन्’ भनेर कहिलेकाहीँ सामाजिक सञ्जालमा लेख्ने बालेन आफैंले भने अब आफूलाई गलत प्रमाणित गर्नुपर्नेछ।’

नेपालमा उत्साह

बालेन शाहको यो अन्तर्राष्ट्रिय सम्मानले नेपाली राजनीतिमा युवाहरूको भूमिकालाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ। रास्वपाका समर्थक र आम युवाहरूले यसलाई ‘नयाँ नेपालको नयाँ पहिचान’ भन्दै सामाजिक सञ्जालमा स्वागत गरेका छन् ।

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक दुई-तिहाइ नजिकको मत प्राप्त गरेपछि उनी चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनको सरकारले अहिले भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारका लागि ‘१०० दिने कार्ययोजना’ अघि सारेको छ।

टाइम म्यागजिनले हरेक वर्ष संसारलाई बदल्न सक्ने क्षमता राख्ने १०० व्यक्तिहरूको सूची सार्वजनिक गर्दै आएको छ । सन् २०२६ को यो सूचीमा नेपालका बहालवाला प्रधानमन्त्रीको उपस्थिति हुनुले नेपालको भू-राजनीतिक र आन्तरिक राजनीतिमा आएको परिवर्तनलाई विश्व समुदायले नजिकबाट नियालिरहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्: